नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरी खेलेसंगै नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । तर नेपालका अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधैं रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।

त्यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ । बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरेपछि बंगलादेशले अग्रता लिएको थियो । फ्रि किकमा प्राप्त बललाई अन मार्क रहेको रेजाले सजिलै गोल गरे ।

बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो । नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो ।

फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

Facebook Comments