मुख्यमन्त्रीले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको यादवको आरोप

सप्तरी । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रदेश नम्वर २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएर प्रदेशलाई तालिवान बनाउन लागेको आरोप लगाएका छन् ।

सोमबार राजविराजमा राष्ट्रिय एकता अभियान सप्तरीले विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान तथा संघीय हिन्दु गणतन्त्र विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए ।

उनले भने जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए । प्रदेश नम्बर २ मा मदरसा विधेयक ल्याएर तालिवान बनाउने योजनामा प्रदेश सरकार रहेको उनले बताए ।

नेपाल सरकारले शिक्षामा उच्च लगानी गरी सरकारी विद्यालय सञ्चालन गरेको र त्यहाँ पढ्नमा कुनै पनि भेदभाव नभएको कारण मदरसा शिक्षाको कुनै आवश्यकता नै नरहेको उनको भनाइ छ । मदरसामा पढेका विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने प्रश्न गर्दै उनले भने ‘मदरसा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा हो जसलाई अरु कुनै पनि धर्म संस्कृती सँग सम्बन्ध छैन ।’

मदरसा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ आएर जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए ।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नु पर्नेमा जोड दिँदै उनले संघीय हिन्दु गणतन्त्रसहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न आग्रह समेत गरे ।

अभियाका जिल्ला उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाल प्रेस युनियन शाखा सप्तरीका उपाध्यक्ष विनय कुमार लाल कर्ण, राष्ट्रिय एकता अभियानका उपाध्यक्ष सुनिता साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा राष्ट्रि एकता अभियान सप्तरीले कोभिड–१९ को समयमा दलित, विपन्न, एकल महिलाहरुलाई एक छाक राहत कार्यक्रमा सहयोग गर्ने दाताहरुलाई अभियानले उनीहरुलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो ।

Facebook Comments