अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि सबैभन्दा पहिले पाकिस्तानले खुलेर समर्थन गरेको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तन गुलामीको चक्रबाट मुक्त भएको प्रतिक्रिया दिएका थिए।

हालै ती नै प्रधानमन्त्री खानले अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने चेतावनी दिएका छन्। खानले अफगानिस्तानमा तालिबानले समावेशी सरकार गठन गर्न नसके त्यहाँ ‘गृहयुद्ध’ हुनसक्ने चेतावनी दिएका हुन्। ‘तालिबानले समावेशी सरकार बनाउन सकेन भने त्यहाँ गृहयुद्ध हुन सक्छ। त्यसले पाकिस्तानलाई पनि असर गर्नेछ,’ खानले भने।

उनले अफगानिस्तानमा गृह युद्ध भएमा उत्पन्न हुनसक्ने मानवीय र शरणार्थी संकटबारे पाकिस्तान चासो देखाएको बताए। समावेशी सरकार नबने अफगानिस्तान अस्थिर र अराजक हुने उनको भनाइ छ। त्यस्तो घटना नियन्त्रण भएन वा लडाइँ जारी रह्यो भने त्यो आतंकवादीका लागि आदर्श स्थान हुने चेतावनी पनि उनले दिएका छन्।

यसअघि अफगानिस्तानमा अन्तरिम सरकार परिवर्तन गर्ने इमरान खानको प्रस्ताव तालिबान सरकारले अस्वीकार गरेको थियो। खानलाई लक्षित गर्दै तालिबान नेताहरुले सरकार परवर्तनको आह्वान गर्ने अधिकार कसैलाई नभएको भन्दै जवाफ दिएका थिए। साथै अफगानिस्तानमा हाल समावेशी सरकार नै रहेको र आफूहरु पनि पाकिस्तान जस्तै स्वतन्त्र रहेको प्रतिक्रिया तालिबान नेताहरुले दिएका थिए।

Facebook Comments