करोडौं ऋणमा डुबेर टाट पल्टेको चिनियाँ कम्पनीलाई राहत, ब्याज भुक्तानीका लागि गोप्य सम्झौता

एजेन्सी । टाट पल्टने चिन्ता व्यक्त गरिएको विशाल चिनियाँ घरजग्गा कम्पनी एभरग्य्रान्डेको सम्पतिसम्बन्धी शाखाले बिहीवारसम्म तिरिसक्नुपर्ने ऋणपत्रको ब्याज भुक्तानीका लागि एउटा सम्झौता भइसकेको जनाएको छ।

जसअनुसार कम्पनीले तीन करोड ५९ लाख डलर बराबरको आन्तरिक ऋणपत्रको ब्याज भुक्तानी गर्नुपर्ने बताइएको छ। ऋणमा डुबेको यो कम्पनीबारे चिन्तित लगानीकर्ताहरूले यो घोषणासँगै राहत महसुस गर्ने विश्वास गरिएको छ। तर, सो कम्पनीले विदेशी ऋणपत्रमा तिर्न बाँकी ८ करोड ४० लाख डलर ब्याजको भाका पनि बिहीवार पुग्दैछ।

चिनियाँ सेन्जेन स्टक एक्सचेन्ज कम्पनीलाई उपलब्ध गराइएको विवरणमा उक्त हेङ्दा घरजग्गा व्यवसाय समूहले ऋणपत्रमा भुक्तानीका लागि लगानीकर्ताहरूसँग सम्झौता भइसकेको जनाएको छ। यद्यपि ब्याज तिरिने रकम र समयबारे उल्लेख छैन। तिर्नुपर्ने रकमबारे “गोप्य वार्ताबाट समाधान भइसकेको” बताइएको छ।

लगानीकर्ताहरूसँगको सम्झौता अनुसार तिर्नुपर्ने समय सीमाको ३० दिनभित्र पनि कम्पनीले विदेशी ऋणपत्रको भुक्तानी गर्न नसके एभरग्रान्डे थप सङ्कटमा पर्न सक्छ।

कम्पनीमा आएको समस्याका कारण एभरग्राण्डे डुब्न सक्ने चिन्ताले विश्व बजारमै तरङ्ग पैदा गरेको छ। एभरग्राण्डे तीन खर्ब डलर ऋण तिर्न सङ्घर्ष गरिरहेको छ।

आफूले तिर्नुपर्ने दायित्वको भार बढ्दै गएपछि यसै हप्ताको सुरुबाट एभरग्राण्डेले लगानीकर्ताहरूलाई सस्तोमा आफ्नो सम्पत्ति बेचेर रकम जुटाउने प्रयास थालेको थियो।

यो कम्पनीले ऋण लिएका दुई ठुला दाताहरूलाई तिर्नुपर्ने ब्याज पनि सोमवारभित्र तिर्न नसकेको बताइएको छ।

केही विश्लेषकहरूले ऋणमा डुबेको यति ठूलो कम्पनीको असफलताले चिनियाँ अर्थव्यवस्थामै ठुलो प्रभाव पार्न सक्ने भन्दै सचेत गराएका छन्। बिस्तारै यो प्रभाव विश्वभरिनै फैलसक्ने बताइएको छ।

सोमवार र मङ्गलवार बन्द रहेको सेन्जेन स्टक एक्सचेन्ज बुधवार खुल्दा शून्य दशमलव ७ प्रतिशतले कारोबार घटेको छ।मध्य शरद ऋतुमा मनाइने चाडको लागि हङकङ स्टक एक्सचेन्ज बुधवार बन्द रह्यो। बीबीसी नेपाली

Facebook Comments