संखुवासभा हत्या प्रकरण : रञ्जनाको त्यो मोबाइल, जसले प्रहरीलाई थप ४ अभियुक्तसम्म पुर्‍यायो

काठमाडौं । संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीसहित खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की रहेका छन् ।

उनीहरुले योजनाबद्ध ढंगबाट ५ जनाको समूहले घटना घटाएको स्वीकार गरेका छन् ।

प्रहरीलाई अभियुक्तसम्म डोहोर्‍याउने दुई क्लू
रञ्जनाको मोबाइल : यदि रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेश कार्कीसँग नभेटिएको भए संखुवासभा घटनाको जडसम्म पुग्न सक्ने थिएन । यसअघि नै प्रहरीले लोकबहादुर आफैँले ६ जनाकै हत्या गरेको निष्कर्षमा पुगेको थियो । तर एकाएक रञ्जनाको मोबाइल नरेससँग भेटिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरेको थियो र आज घटनामा संलग्न ५ जनालाई नै प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयको मौनता
यसअघि प्रहरीले घटनास्थलमा गएर अनुसन्धान गर्न खोज्दा जनप्रतिनिधिबाहेक गाउँका कसैले पनि खुलेर केही कुरा बताएका थिएनन् । सोही कारण पनि प्रहरीले घटनालाई निकै सूक्ष्म हिसाबले अध्ययन गरिरहेको थियो । घटनास्थलको भौगोलिक बनावट र घटनाबारे सबै बेखबर भन्ने शंकाले पनि प्रहरीलाई अभियुक्तसम्म डोहोर्‍याउन मदत गरेको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।

यस्तो छ घटनाको नालीबेली
५ जनाको समूहले अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो राति ८ बजे बसी बनाएका थिए । योजनाअनुसार भदौ २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही बेला मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लाने योजना बनाएका थिए ।

योजनाअनुसार मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमार कार्कीको घरमा गई ‘लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू’ भनी तेजकुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरी घरतर्फ फर्केको र तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर निजको घरपछाडि चिर्पट बोकी तयारी हालतमा बसेका थिए ।

मृतक तेजकुमार कार्की बिहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निश्चित गर्न सुतिरहेको लोकबहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस् ?’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए ।

सो समयमा लोकबहादुरको भाई नरेश कार्की र बुबा रणबहादुर कार्कीसमेत घरमै थिए । घरबाट फर्किने क्रममा योजनाअनुसार लोकबहादुरले भाई नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि गई घरपछाडिको गोगनेको रूखनजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिएर आई तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरेपछि घोप्टो पारेका थिए ।

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेका थिए । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खडकबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेका थिए । हत्यापछि मृतक रञ्जनाको शव रणबहादुर र नरेशले कमलाको शव भएको स्थानसम्म पुर्याउन सहयोग गरेका थिए ।

उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमा घरनजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेका थिए । र लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी उनीहरु दुइ जनाको हत्या गरेका थिए ।

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गएका थिए र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घरपछाडिको गोठनजिक लगेका थिए । लोकबहादुरलेउनको टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेका थिए ।

घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी पाँचै जना लोकबहादुरको घरमा गई आफ्ना ज्यान र हतियारमा लागेका रगत पखाली चिर्पटहरू अँगेनामा डडाएका थिए । त्यसपछि खड्गबहादुर र निजको छोरा हस्तबहादुर आफ्ना घर गएका थिए । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लुकाएका थिए ।

त्यसपछि फेरि सबै जना लोकबहादुरको घरमा गई घटनाबारे कसैले सोधे केही पनि थाहा नभएको बताउने प्लान गरेका थिए । यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी आ-आफ्ना घर फर्केका थिए ।

Facebook Comments