बेलायतले किन हटाएन नेपाललाई रातो सूचीबाट ?

काठमाडौँ । अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ ।

खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका देशहरूलाई सेप्टेम्बर २२ बेलायतले पहेंलो सूचीमा उकाल्दैछ भने अक्टोबर ४ मा पहेंलो र हरियो सूची अक्टोबर ४ देखि मर्ज हुँदैछ ।

बेलायतले अहिले जोखिमका आधारमा विभिन्न देशलाई ‘ट्राफिक लाइट सिस्टम’का आधारमा वर्गीकरण गरेको छ । जोखिम कम भएका बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, इजिष्ट, केन्या, ओमान, टर्की २२ सेप्टेम्बरदेखि पहेंलो सूचीमा चढाइँदैछन् ।

तर नेपालले आफ्नो कूटनीतिक सम्बन्धको प्रयोग गरी खोप अभियानमा भएको प्रगति र नयाँ संक्रमितहरूको संख्याबारे राम्ररी जानकारी गराउन नसक्दा नेपाल भने रातो सूचीमा नै रहीरहेको छ ।

बीबीसीका अनुसार, हरियो र पहेंलो सूचीमा रहेका देशका नागरिकले पूर्ण मात्रा खोप लिएको खण्डमा बेलायतको भ्रमण गर्दा पीसीआर परीक्षणको प्रमाणपत्र लिइरहनुपर्दैन । यो नियम युरोप र अन्य देशका लागि लागू हुनेछ । अहिले पनि युरोपेली देशहरूबाट दुई दिन अघिको पीसीआर परीक्षणको रिपोर्ट बुझाउन अनिवार्य गरिएको छ भने ४ अक्टोबरदेखि यो नियम सरलीकरण गरिदैंछ ।

यद्यपि, रातो सूचीमा नै रहेका देशहरूबाट यात्रा गर्ने यात्रुले क्वारेन्टीन होटलमा ११ दिन बिताउनुपर्छ, यसमा एकजना यात्रुको २ हजार दुई सय ८५ पाउण्ड खर्च हुन्छ ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायत सरकारसँग राम्रोसँग कूटनीतिक पहल नगरेका कारण दक्षिण एसियाका चार देश बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स रातो सूचीबाट हट्दा नेपाललाई भने बेलायतले रातो सूचीमा कायमै राखेको एक पूर्व कूटनीतिज्ञले बताए ।

‘नेपालमा कोभिड–१९ को संक्रमण घटिरहेको छ । खोपको राम्रो प्रगति छ । खोपमा र संक्रमण जोखिममा हामीभन्दा तल रहेका देश हट्ने, अनि बेलायतसँग सदीयौं लामो कूटनीतिक सम्बन्ध रहेको नेपाल रातो सूचीमा रहीरहने भन्ने हुँदैन,’ उनले भने, ‘राजदूत महोदय केन्सिङ्गटन प्यालेस गार्डेन रोडमा रहेको दूतावासमा आराम गरेर मात्र बस्नुभयो जस्तो छ ।’

जनसंख्याको आधारमा कोभिड–१९ विरुद्धको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो स्थानमा छ । भारतमा १४ प्रतिशत, पाकिस्तानमा १०.७ प्रतिशत र बंगलादेशमा ८.८ प्रतिशत जनसंख्याले मात्र खोप लगाएका छन् ।

Facebook Comments