के भारत विश्वशक्ति राष्ट्र बन्ला ?

विश्व आर्थिक महाशक्तिहरूको श्रेणीमा अहिले (सन् २०२० को तथ्याङ्क अनुसार) अमेरिका एक नम्बरमा, दुई नम्बरमा चीन र तीन नम्बरमा भारत देखापरेका छन् । केही लेखकले, केही वर्षभित्रै भारत विश्वको नम्बर एक आर्थिक शक्तिको रूपमा उदाउने अनुमान गरेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार सन् २०२१ मा नै चीनको आर्थिक वृद्धि दर ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने सम्भावना छ । सन् २०२० मा ३.२ प्रतिशतले सङ्कुचनमा रहेको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतले विस्तार हुने कोषको अनुमान छ ।

भारतको जनसङ्ख्या प्रकृति, राष्ट्रिय आय वितरणको स्थिति, क्षेत्रय बजारमा भूमिका, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव तथा भारतको आन्तरिक राजनीति आदि तत्वका बावजूद विश्वको प्रमुख आर्थिक शक्ति बन्ने सम्भावनाले जोकोहीलाई उत्साही बनाउन सक्दछ । ज्ञान–विज्ञान, कला–साहित्य, अन्तरिक्ष अनुसन्धान, कम्प्युटर तथा सामरिक क्षेत्रमा समेत यसले गरिरहेको प्रगति आर्थिक क्षेत्रको निम्ति पनि सहयोगी साबित हुने निश्चित छ ।

दुई दशकसम्म अफगानिस्तानमा प्रत्यक्ष निगरानी गरेको अमेरिका अन्ततः निराश भएर तथा अफगानी जनतालाई अन्योलमा छाडी तालिबानीको जिम्मा लगाउनुले उसको अन्तर्राष्ट्रिय कूटनीतिक छविमा गहिरो क्षेत्रति पुर्‍याएको छ । अफगानिस्तानमा अहिले तालिबानीहरूको शासन छ, तर ऊ पनि भारतसित सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न चाहन्छ । यसलाई पनि भारतको हितमा मान्न सकिन्छ ।

आम अफगानी जनता त्यहाँको अपदस्थ सरकार तथा तालिबान सरकारले पनि भारतमाथि विश्वास गर्नु एक किसिमले सफल कूटनीतिको सङ्केत हो । एशियाका दुई शक्तिशाली देशहरू विश्वको कूटनीतिक अखडामा वर्चस्व बढाउँदै गएको देखिन्छ । भारत लोकतान्त्रिक देश भएको नाताले चीनको तुलनामा अमेरिका, बेलायत र युरोपेली सङ्घलगायत विश्वभरिकै कम्युनिस्ट देशहरूको निम्ति स्वीकार्य बन्दै गएको छ ।

एक नम्बर आर्थिक महाशक्ति बन्ने प्रचुर सम्भावना बोकेको भारतको जनसङ्ख्या पनि चीनपछि दोस्रो नम्बरमा छ । दक्ष कामदारहरूको अभाव छैन । पूँजीको पर्याप्तता छ, प्रविधिमा पनि अगाडि नै छ । यस्ता कुराहरूले आर्थिक महाशक्ति हुन सहयोग पुर्‍याउँछ । भारत नम्बर एक आर्थिक महाशक्ति हुनु नेपालको लागि राम्रो हो । दुवै देशबीचको सकारात्मक सम्बन्धले यसमा झन् प्रभावकारी भूमिका खेल्न सक्छ । चीन आर्थिक महाशक्ति बन्दा पनि नेपाललाई लाभ नै हुनेछ, तर विभिन्न कारणले भारत हाम्रो लागि बढी प्रभावकारी साबित हुन सक्दछ ।

भारतीय स्टेट बैंकको आकलन अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महीनामा सकल घरेलु उत्पादको वृद्धि दर १८.५ प्रतिशत वरिपरि रहन सक्दछ । भारतका चार हजारभन्दा बढी कम्पनीले २८.४ प्रतिशतको वृद्धि हासिल गरेका छन् । यो समय भनेको कोरोना महामारीको दोस्रो भेरिएन्टले ठूलो प्रकोप मचाएको अवधि हो । कोरोना महामारीका कारण, कतै गत वर्षझैं, भारत आर्थिक मन्दीको चपेटामा आउने त होइन भन्ने आशङ्का व्यक्त गरिंदै थियो । तर यस वर्षको आार्थिक वृद्धिदरले उत्साहवद्र्धक सङ्केत दिएको छ ।

गत वर्ष आर्थिक वृद्धि दरमा आएको ठूलो ह्रासलाई नियन्त्रण गर्न र आर्थिक प्रगतिलाई अग्रगति प्रदान गर्न भारतले निरन्तर राहत प्याकेज घोषणा गर्दैरह्यो । आम जनता र व्यापारीहरूलाई ऋण दिनुका साथै पूँजी जुटाउन पनि सरकारले सुविधा प्रदान गर्‍यो । गरीब एवं निम्न आयवर्गको कल्याणका लागि विशेष योजना ल्याउने काम भयो । यसबाहेक महामारीको रोकथाम तथा अन्य उपायहरूसहित खोप अभियानलाई पनि तीव्रता दिने काम भयो । एक दिनमा एक करोड जनतालाई खोप लगाउनु सामान्य उपलब्धि होइन ।

उपरोक्त पहलहरूले गर्दा अर्थ व्यवस्थाप्रति विश्वास कायम गर्ने धारणा प्रदान गर्‍यो भने विभिन्न चुनौतीहरूसँग मुकाबिला गर्न ऊर्जा पनि प्रदान गर्‍यो । उपरोक्त कारणहरूले गर्दा आर्थिक वृद्धि हुनुका साथै घरेलु माग पनि तीव्ररूपमा बढ्ने छ र निर्यातमा पनि वृद्धि हुनेछ । एकदुई वर्षभित्र नै भारतको अर्थ व्यवस्था कोभिड–१९ को महामारीभन्दा पूर्वको अवस्थामा फर्कने छ ।

भारतले निकै तीव्र गतिमा निर्यात पनि बढाउन थालेको छ । भारतको उद्योग तथा वाणिज्य मन्त्रालयद्वारा हालै जारी गरिएको आँकडा अनुसार अगस्त २०२१ मा भारतीय उत्पादनको निर्यात ३३.१४ अर्ब डलर रह्यो जुन गत वर्षको तुलनामा ४५.१७ प्रतिशत बढी देखिन्छ । चालू आर्थिक वर्षको शुरूको पाँच महीनामा यसको निर्यात १६३.६७ अर्ब डलर रह्यो जुन एक वर्ष अघिको तुलनामा ६६.९२ प्रतिशत बढी हो ।

किनभने सन् २०१९ को तुलनामा पनि यो २२.९३ प्रतिशत बढी नै देखिन्छ । निर्यातमा देखिएको यस तीव्र वृद्धिका कारण भारतले चालू आर्थिक वर्षमा आफ्नो ४०० अर्ब डलर निर्यात गर्ने लक्ष्यको ४१ प्रतिशत लय आफ्नो नियन्त्रणमा पारिसकेको छ । पेट्रोलियम उत्पादन, इन्जिनीयरिड्ढा सामान, फर्मा र रत्न एवं आभूषणका क्षेत्रमा माग बढी भएको कारण निर्यातमा तीव्रता आएको मानिन्छ ।

भारत सरकारले मेक इन इन्डियालाई महत्व दिएको कारण उत्पादन आधारित प्रोत्साहन योजनाबाट पनि निर्यात बढेको हो । एक वर्ष अघि ८ अर्ब डलरको मोबाइल आयात गर्ने भारतले सानै अवधिमा तीन अर्ब डलरको मोबाइल फोन निर्यात गरिसकेको छ । विश्वका दश प्रमुख कृषि निर्यातक देशमध्ये एक भारतले नेपाललगायत अमेरिका, चीन, बङ्गलादेश, युएई, भियतनाम र सउदी अरबका साथै इन्डोनेशिया, इरान एवं मलेशियामा पनि कृषि उत्पादन निर्यात गरिरहेको छ ।

यद्यपि विश्वव्यापी निर्यातको मामिलामा भारतको सहभागिता खासै बढी छैन । तर सन् २०२१–२०२२ मा यसले चार सय अर्ब डलरको निर्यात गर्ने लक्ष्य सजिलै हासिल गर्ने अनुमान गर्न सकिन्छ । कोभिड–१९ को विश्वव्यापी सङ्कटले पनि भारतलाई कम क्षति पुर्‍याएको छैन, तर यस सङ्कटपूर्ण अवधिमा पनि यसले विश्व समुदायको विश्वास जित्न सफलता हासिल गरेको छ ।

भारतजस्तो बहुजातीय, बहुभाषिक, विविध धर्म–संस्कृति भएको देशमा जनताको लोकतान्त्रिक अधिकारको सम्मान र संरक्ष्Fण गर्दै आर्थिक प्रगति गर्नु कम चुनौतीपूर्ण कार्य होइन । जुन देशमा न्यायालयको सर्वोच्चता छ र प्रत्येक झिनामसिना कुरामा पनि न्यायालयमा गएर आफ्नो अधिकार खोजी गर्नु तथा सहज एवं सुलभ न्याय पाउने अवस्था रहेको कारण अप्रत्यक्ष्Fरूपमा विकास कार्य प्रभावित हुने गर्छ ।

सिङ्गापुर, मलेशिया एवं चीनको विकास–गाथाको चर्चा गरिन्छ तर ती देशहरूमा भारतजस्तो लोकतान्त्रिक अभ्यास भइरहेको हुँदैन । मुआब्जा हासिल गर्न अलिकति ढिलो भए पनि न्यायालयमार्फत सम्पूर्ण निर्माण कार्य नै वर्षौंसम्म रोक लगाउने अवस्था उत्पन्न हुने गरेको कारण पनि विकास कार्य प्रभावित भएको पाइन्छ । एक अर्बभन्दा बढी जनसङ्ख्या, पृथक राजनीतिक विचारधारा भएका दलहरू, मिडियाको स्वतन्त्रता आदिका कारण पनि यदाकदा समस्या उत्पन्न हुने गर्दछ। यी सबका बावजूद भारतको विकास निर्माणको यात्रालाई प्रशंसनीय मान्नुपर्दछ ।

निकट भविष्यमैं उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीच विश्वको आर्थिक महाशक्ति बन्ने ठूलो प्रतिस्पर्धा रहने छ र सम्भवतः भारतले अग्रता हासिल गर्ने अनुमान गरिंंदै छ ।

Facebook Comments