काठमाडौंमा ‘संस्कृत-पूर्वीय संस्कृतिको स्रोत’ विषयक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौंस्थित रहेको भारतीय राजदूतावासले साउन पूर्णिमाको दिन ‘विश्व संस्कृत दिवस’ को अवसरमा, वेदको भाषा संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत-पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो । विद्यमान कोभिड १९ को परिस्थितिलाई मध्येनजर गरी सेमिनारलाई भौतिक तथा भर्चुअलरुपमा आयोजना गरिएको थियो। सेमिनारको उद्घाटन नेपालका लागि भारतीय राजदूत श्रीविनय मोहन क्वात्राले गरेका थिए।

सेमिनारमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् श्रीसत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता श्री चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देशमार्फत कार्यक्रमको लागि शुभकामना व्यक्त गरेका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत तथा विदेशका ३० भन्दा बढी विद्वानहरूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न विषयमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

त्यस्तै सेमिनारमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वानहरूले आ-आफ्नो विचार आदान प्रदान गरेका थिए। उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुकका ४५ विद्वानहरुरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

सेमिनारको उद्घाटन सत्रमा भारतीय राजदूत क्वात्रा, शताब्दी पुरुष जोशी, चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा “संस्कृतम् भारत-नेपालयो: संपत्ति:- भाग २” शीर्षकको महत्त्वपूर्ण पुस्तकको पनि विमोचन गरिएको थियो ।

Facebook Comments