लागुऔषध मुद्दामा पत्रकारलाई फसाउन खोज्ने दुई जना पक्राउ, दुई प्रहरी निलम्बित

रौतहट । निर्दोष व्यक्तिलाई लागुऔषध मुद्दामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधवनारायण-१ बस्ने २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका –१ बहुअर्वा बस्ने २३ वर्षीय जितेश कुमार यादव रहेका छन् ।

त्यस्तै यस घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यो घटनामा पत्रकार महासंघका सहसचिव संजय सहनी मुख्य योजनाकार रहेको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

उनले भने, ‘ सह–सचिव सहनीद्वारा धिरज र जितेशकुमारलाई प्रयोग गरी पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनको दाबीअनुसार त्यसपछि सहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

‘पत्रकार मोजिबुल्लाह र सहनीबीच व्यावसायिक इबी रहेछ। त्यसैले सहनीले पत्रकार मोजिबुल्लाहलाई फसाउन खोजेको हाम्रो अनुसन्धानले देखायो’, एसपी शाहले भने,‘सहनीलाई नियन्त्रणमा लिन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।’

अपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा पक्राउ गरी ७ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताए। रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

Facebook Comments