भारतको सहयोगमा निर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन’ भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन’ भवनको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा आज ललितपुरको बागडोलस्थित निर्मित उक्त भवनको उद्घाटन गरेका हुन् ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप उक्त भवनको निर्माण भएको हो । भारत सरकारको ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत उक्त भवन निर्माण भएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

नवनिर्मित उक्त भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् । त्यस्तै जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना वृद्धाश्रमको रुपमा रहेको छ । त्यसैगरी जेष्ठ नागरिकहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाको समेत उक्त भवनमा सुविधा रहेको छ ।

दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘ हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ । यस अवसरमा राजदूतले ज्यापु समाजलाई धन्यवाद दिुनुका साथै नेपाली समाजमा ज्यापु समाजले पुर्‍याएको योगदानको कदर गर्नुभयो ।’

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४ सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गतका योजनाहरु सम्पन्न गरेको छ ।

Facebook Comments