बादल र न्यौपानेद्वारा सुराकी खर्चको नाममा डरलाग्दो भ्रष्टाचार

काठमाडौं। गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन दिए पनि त्यसमा सुधार हुन नसकेको हो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६/७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरे । न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएको महालेखाको शुक्रबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

एक दशकदेखि महालेखाले सुराकी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिइरहेको छ तर त्यसलाई अटेरमात्र गरिएको छैन, अपारदर्शीसमेत छ । २८ वर्षअघि मन्त्रिपरिषद्बाट पारित कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका हुन् ।

खासगरी मन्त्रीले कार्यकर्ता र सचिवले आसेपासे कर्मचारीलाई सुराकीका नाममा मनपरी रकम बाँड्ने गरेका छन् । आज प्रकाशित कान्तिपुरको खबर अनुसार गृहमन्त्री र गृहसचिवले २०७४/७५ मा १ करोड ५६ लाख १ हजार रुपैयाँ बाँडेका थिए । २८ वर्षअघिको ‘तजबिजी अधिकार’ प्रयोग गर्दै आव २०७५/७६ मा तत्कालीन गृहमन्त्री थापाले ७२ लाख र तत्कालीन गृहसचिव प्रेमकुमार राईले ७३ लाख ९ हजार र खर्च गरेका थिए ।

सुराकी खर्च तत्काल पाउने गोप्य सूचना र भैपरि कामका आधारमा हुनुपर्ने हो तर दुवै आवमा भएको खर्च रकम एउटै अंकमा हुनुले पनि आवश्यकता र औचित्यभन्दा मिलेमतोमा रकम लिने गरेको पुष्टि हुने गृहका एक अधिकारीले बताए ।

Facebook Comments