एनसेलद्वारा आफ्नै ग्राहकको एक अर्बभन्दा बढी ठगी

काठमाडौं । नेपालकै ठूलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले ग्राहकको स्वीकृतिबिनै विभिन्न एप अटो रिन्युको नाममा एक अर्बभन्दा बढी रकम ठगी गरेको खुलासा भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकको जानकारीबिना अनाधिकृतरूपमा एनसेलले एक अर्बभन्दा बढी रकम ठगी गरेको खुलासा गरेको हो । एनसेलले मौजुदा ऐन, नियम, निर्देशन र कार्यविधि पालना नगरी भ्यालु एडेड सर्भिस अन्तर्गत एप अटो रिन्युको नाममा ठगी गरेको अनुसन्धानबाट खुलेको हो ।

भ्यालु एडेड सर्भिस अन्तर्गत गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ ठगी गरेको हो । २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म ग्राहकहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी आम्दनी गरेको प्राधिकरणले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सो ठगीको विषयमा उजुरी आएपछि प्राधिकरणले अनुसन्धान थालेको थियो । प्राधिकरणले उजुरीकै आधारमा अनुसन्धान गरी पटक –पटक एनसेललाई स्पष्टीकरण समेत सोधेको थियो। चित्त बुझ्दो जवाफ नदिएपछि नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले निर्णय गर्दै एनसेललाई अन्ततः कारबाही गरेको छ।

‘अनुमतिपत्रको सर्तबमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरित सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको उक्त निर्णयमा भनिएको छ । त्यस्तै यसै विषयमा छानबिन गर्नको लागि प्राधिकरणले गठन गरेको छानबिन समितिले समेत एनसेललाई दोषी पाएको थियो।

एनसेललाई दोषी पाइएपछि उक्त रकम ३ महिनाभित्र ठगिएका ग्राहकहरूको मोबाइलमा पठाउन प्राधिकरणले एनसेललाई निर्देशन दिइएका बताइएको छ । यसरी रकम फिर्ता गर्दा विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना उपलब्ध गराउन समेत एनसेललाई निर्देशन दिइएको छ ।

त्यस्तै ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ । त्यसैगरी एनसेलले सञ्चालन गरेको गेमलोफ्ट र हुवावे एप ग्यालरी मार्फत के कति रकम आर्जन गरेको हो सो को जानकारी पनि १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ। त्यस्तै प्राधिकरणले एनसेललाई यो समग्र प्रकरणमा ५० हजार जरिवाना समेत गरेको छ ।

Facebook Comments