अफगानिस्तानमा युद्धको खतरा कायमै : तालिबानविरुद्ध मोर्चाबन्दी, ठूलो विद्रोहको तयारी

एजेन्सी । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा जारी युद्ध समाप्त भएको घोषणा गरेका छन्।

तर अर्कोतर्फ, अज्ञात स्थानबाट जारी सन्देशमा अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका छन्। सालेहले राष्ट्रपति अशरफ गनीले देश छोडेपछि आफू अब अफगानिस्तानको कार्यबाहक राष्ट्रपति भएको र युद्ध अझै समाप्त नभएको चेतावनी दिएका छन्।

काबुलमा अफगानिस्तानको नियन्त्रण सम्हालेपछि मंगलबार तालिबानका प्रवक्ताले पहिलो पटक स्क्रीनमा पत्रकार सम्मेलन गरे। यस सम्मेलनमा जबीहुल्लाहले आफूविरुद्ध लड्नेलाई आफमाफी, महिला अधिकार र नयाँ सरकार गठनको बारेमा जानकारी गराए।

तर पत्रकार सम्मेलनको केही समय अगाडी अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले अफगानिस्तानको संविधान अनुसार राष्ट्रपतिको अनुपस्थिति, राजीनामा वा मृत्यु भएमा उपराष्ट्रपति देशको कार्यबाहक राष्ट्रपति बन्ने घोषणा गरे।

‘म यस समय देशमा छु र कानूनी रुपमा कार्यबाहक राष्ट्रपति हुँ। म सबै नेताहरुसँग समर्थन र सहमतिका लागि उनीहरुको सम्कर्पमा छु,’ उनले ट्विटरमा भनेका छन्। राष्ट्रपति अशरफ गनीले अफगानिस्तान छोडिसकेका छन्। उपराष्ट्रपति सालेह तालिबान नियन्त्रण र शासनविरूद्ध आन्दोलन सुरु गर्न तयार रहेका केही अफगानि नेताहरुमध्ये एक हुन्। उनीसँगै केही नेताहरुले सशस्त्र तालिबान लडाकुहरुद्वारा गरिएको देश कब्जालाई अवैधको संज्ञा दिइरहेका छन्।

वर्तमान स्थितिमा तालिबानले देशका सबै महत्वपूर्ण सीमा मार्गहरुलाई कब्जा गरिसकेको छ। त्यहाँ केहि क्षेत्रहरु छन् जहाँ तालिबानले अझैसम्म आफ्नो नियन्त्रणको दाबी गरेको छैन।

मसूदका छोराले गरे युद्धको घोषणा
एकदिन पहिले एक फ्रेन्च पत्रिकाको लागी एक लेखमा अफगान नेता अहमद शाह मसूदका छोरा अहमद मसूदले आफ्ना बुबाको कदम पछ्याएर तालिबानसँग ‘युद्ध’को घोषणा गरे। अहमद मसूदले इन्स्टाग्राममा पोस्ट गरेको एक भिडियोमा उनी अफगानिस्तान बाहिर नभएको र पञ्जशीरमा आफ्ना जनतासँग रहेको दाबी गरेका छन्।

काबुलबाट करिब तीन घण्टाको दूरीमा रहेको पञ्जशिर प्रान्त तालिबान विरुद्धको प्रदर्शनका लागि परिचित छ। १९९६ देखि २००१ सम्म तालिबान शासनको बेला पनि यो प्रान्त उनीहरुको नियन्त्रणमा थिएन। त्यहाँ उत्तरी गठबन्धनले तालिबानसँग लडेको थियो।

पञ्जशीरका स्रोतहरूले बीबीसीलाई बताएअनुसार अमरुल्लाह सालेह र अहमद मसूदले पूर्व उत्तरी गठबन्धनका प्रमुख कमाण्डर र सहयोगीहरुसँग पुनः सम्पर्क गरेका छन् र उनीहरु सबैलाई संघर्षमा सामेल हुन राजी गराएका छन्।

अशरफ गनीको राजीनामाको विरोध : हामी तालिबानसँग लड्नेछौं
राष्ट्रपति अशरफ गनीका सहयोगीले अफगानिस्तानको राजधानी काबुलको राष्ट्रपति भवनमा आइतबार आयोजित कार्यक्रमहरुबारे प्रष्ट पारेका छन्। उनका अनुसार जब तालिबान गत शुक्रबार काबुल कब्जा गर्न आउँदै थिए, केहि उच्चस्तरीय व्यक्तिहरुले राष्ट्रपति गनीलाई राजीनामा दिनका लागी दबाब दिए। तर उनी राजी भएनन्।

शनिबार र आइतबार भएका बैठकहरुमा राष्ट्रपति गनीका निकट सहयोगीहरुले उनलाई राजीनामा र देश छाड्नका लागि सल्लाह दिएका थिए। तर अमरुल्लाह सालेह मात्र त्यस्ता व्यक्ति थिए जसले राष्ट्रपति गनीको समर्थन गरेका थिए। सालेहले गनीलाई राजीनामा नदिन र देश नछाड्न भनेका थिए।

गनी निकट व्यक्तिका अनुसार अमरुल्लाह सालेहले बारम्बार ‘हामी तालिबानसँग लड्नेछौं’ भनिरहेका थिए। राष्ट्रपति भवनमा भएका ती बैठकहरुबारे एक अन्य स्रोतले पनि यस कुराको पुष्टि गरेको छ। सालेह राष्ट्रपति अशरफ गनीको राजीनामाविरुद्ध उभिएका थिए।

पञ्जशिरमा तालिबान विरोधीहरुको भेला
तालिबान काबुल आइपुगेपछि र राष्ट्रपति गनीले देश छोडेपछि अमरुल्लाह पञ्जशीर गए र उनी अहिले पनि रहेको बताइएको छ। अफगानिस्तानका रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदी पनि अमरुल्लाहको साथमा रहेको विश्वास गरिन्छ। अमरुल्लाह सालेहको एक अडियो सन्देश पनि सार्वजनिक भएको छ। जसमा उनी भविष्यको कारबाहीका बारेमा कुरा गरिरहेका छन्।

अमेरिकामा रहेका एक अफगान विश्लेषक हाशिम वाहदत्यारका अनुसार अमरुल्लाह सालेहको सन्देशमा दुईवटा महत्वपूर्ण कुरा छन्। ‘यदि तालिबानले लोकतान्त्रिक सरकारको कुरा गर्छ भने उनीहरु केही हदसम्म सहमत हुन सक्छन्। तर यदि तालिबानले आफ्नै किसिमको सरकार गठन गर्ने घोषणा गरे भने शायद अमरुल्लाह उनीहरु विरुद्ध लड्नेछन्।’

तर अमरुल्लाहलाई देशमा कति सहयोग प्राप्त हुनेछ हाल यो स्पष्ट छैन।

तालिबानविरूद्धको प्रतिशाेधले कसरी गति लिन सक्छ ?
तालिबानले अफगानिस्तानमा आफ्नो नयाँ सरकारको बारेमा अहिलेसम्म धेरै केही भनेका छैनन्। जबीहुल्लाह मुजाहिदले आफ्नो पत्रकार सम्मेलनमा उनको सरकारमा सबै क्षेत्र र विचारधाराका अफगान नागरिकहरु सामेल हुने बताएका छन्। सरकारमा अफगानिस्तानका सबै दलहरुको प्रतिनिधित्व हुने उनले जानकारी दिएका छन्।

विश्लेषक हाशिम वाहदत्यार भन्छन्– ‘यसपछि जे हुन्छ त्यसको लागी तालिबान जिम्मेवार हुनेछ, किनकि तालिबान यस समय सत्तामा छ।’

‘केहि रिपोर्टअनुसार तालिबानले अमरुल्लाह सालेह र अहमद मसूदसँग कुराकानी गर्न र उनीहरुलाई सरकारमा सामेल हुने प्रस्ताव राखेको छ। तर यदि यसो भएमा अफगानिस्तानमा विगत २० वर्षहरुमा धेरै घटनाहरु भएका छन् जसले तालिबान र उनीहरुका विरोधीहरुलाई एक साथ आउन बाधा पु¥याउन सक्छ,’ उनले भने।

उत्तरी गठबन्धन र धेरै मानिसहरु अहमद शाह मसूदलाई एक ‘नायक’ मान्छन्। तर के यो उपाधि तालिबानका लागि स्वीकार्य हुन्छ ? याद रहोस् अहमद शाह मसूद अल कायदाका दुई आत्मघाती हमलावरहरुद्वारा मारिएका थिए। अहिलेसम्म उत्तरी गठबन्धन र अहमद शाह मसूदका अनुयायीहरु प्रत्येक वर्ष उनको वार्षिकोत्सवमा काबुल शहर बन्द गर्दछन्।

वहिदातयारले जबीहुल्लाह मुजाहिदको पत्रकार सम्मेलनको उल्लेख गर्दै यदि तालिबानले आफ्नो वाचा पूरा गरे भने उनीहरुका लागी चुनौतिहरु कम गर्न सकिने बताए। यदि तालिबानले सत्ता हात पारेपछि आफ्नो पुरानो युग जस्तै कडा निर्णय लिए भने सरकारको कठिनाइहरु बढ्न सक्ने बताइएको छ।

सडकमा प्रदर्शन
तालिबानविरुद्ध अफगानिस्तानका विभिन्न सडकहरुमा प्रदर्शन भएको छ। एक ठूलो संगठन विरोधमा नउत्रिएपनि केही संख्यामा मानिसहरु सडकमा आएका छन्। विशेषगरी तालिबानको कानुन महिलाका लागि कठोर हुने भएकाले धरैले चिन्ता व्यक्त गरिरहेका छन्।

बुधबार प्रदर्शनका क्रममा केही स्थानमा गोली पनि चलेको र केही मानिसहरु घाइते भएको बताइएको छ। वर्तमान स्थिति हेर्दा अफगानिस्तान तत्काल शान्त हुने अवस्था देखिँदैन।

Facebook Comments