काठमाडौं । सरकारले पार्टी विभाजनलाई सहज बनाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमालेको माधव नेपाल पक्षलाई भने राहत मिलेको छ । सोमबार रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य भएसँगै मंगलबार सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।
पार्टी विभाजनलाई सजिलो बनाउन सो अध्यादेश ल्याएसँगै नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाउन तर्फ लागेको छ । नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने चर्चा चले पनि टुंगो भने लागिसकेको छैन ।
एक नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा समाजवादी, नेकपा एमाले (क्रान्तिकारी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतमा कुन राख्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।
चुनाव चिह्न भने सूर्य नै राख्ने बिषयमा छलफल भइरहेको स्रोतको भनाई छ । नाम यी मध्ये जुन राखे पनि चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालिएको बताइएको छ ।
चुनाव चिह्न सूर्यमा उदाउँदो सूर्य वा कुनै पनि सूर्य हुन सक्ने बताइएको छ । दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने नेपाल पक्षको तयारी रहेको स्रोतको भनाइ छ ।
Facebook Comments