नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा करोडौंको अनियमितता

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पमा करोडौंको अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पम्पमा एक करोड ३ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले एक प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दावीसहित अख्तियारले विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो ।

कार्की पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको अख्तियारको दाबी छ ।

बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले सो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

Facebook Comments