काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई कारवाही हुन सक्ने बताएका छन्। नेपाल र रावलबाट बिहीबारै स्पष्टीकरण आएको बताउँदै ओलीले शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा यस्तो बताएका हुन्।
बैठकमा ओलीले यी कुरा बताएको जानकारी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएका हुन्। ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण पार्टी केन्द्रीय कार्यालयमा आइपुगेको छ। अन्य दुई जना नेताको स्पष्टीकरण अझै आउन बाँकी छ’, उनले भने, ‘वरिष्ठ नेता नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीले बताउनु भयो। यसबारे थप निर्णय आगामी केन्द्रीय कमिटीबाट लिने प्रधानमन्त्रीले बताउनु भएको छ।’
बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताउँदै त्यहीकारण उनीहरुमाथि कारवाही हुन सक्ने बताएका हुन्। ओलीले एमाले विभाजनका रेखा र आशंका आजको बैठकबाट सकिएको पनि बताएका छन्। प्रमुख सचेतक भट्टराईले पनि एमाले विभाजनको सम्भावना पनि आजको बैठकबाट सकिएर पार्टी एकजुट भएर उभिएको दाबी गरेका छन्।
बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र रावलको स्पष्टीकरणलाई अत्यन्त नकरात्मक भनेका थिए। ‘पार्टी केन्द्रीय कार्यालयमा आइपुगेका स्पष्टीकरण नकरात्मक र कारवाहीका भागीदार छन्’, बैठकमा ओलीले भनेका थिए, ‘अन्य दुईजनाको स्पष्टीकरण पार्टीलाई एकढिक्का बनाउन सहयोग पुग्ने गरी आउने विश्वास लिएको छु।’
उक्त बैठकमा वरिष्ठ नेता झलनाथ खनालले फागुन २८ का निर्णय फिर्ता हुनुपर्ने बताएका थिए। तर प्रधानमन्त्री फागुन २८ निर्णय फिर्ता गर्न नसकिने पनि बताएका छन्। बालुवाटारमा भएको संसदीय दलको बैठकमा नेता खनालको नेतृत्वमा माधव पक्षका अधिकांश सांसद सहभागी भएका थिए।
तर बैठकमा माधव नेपाल र भीम रावल सहभागी भएनन्। सुरेन्द्र पाण्डे सहभागी भएर पनि चाँडै बालुवाटारबाट बाहिरिए। खनालले बैठकमा सर्वोच्च अदालतले एमाले ब्युँताएकै अवस्था अर्थात् २०७५ जेठ २ गतेको विन्दुबाट अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
Facebook Comments