प्रतिनिधिसभा बैठक आज : दोस्रो तहका नेताले मन्तव्य राख्‍ने

काठमाडौँ । प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो ।

चालु अधिवेशनमा भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको, प्रतिनिधिसभा विघटनलाई सर्वोर्च्चले बदर गरेको र एमालेभित्रै द्वन्द्व सिर्जना भएकाले परम्परा तोडिएको हो ।

एमाले सांसद विशाल भट्टराईले बैठकमा आफ्नो पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्य राख्ने जानकारी दिए । सभामुखको सचिवालयले दलले सिफारिस गरेका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जनाएको छ । प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चले ब्युँत्याएपछि फागुन २३ मा बसेको पहिलो बैठकमा सत्तापक्षको असन्तुष्ट पक्ष र प्रतिपक्षको विरोधका कारण असहज अवस्था सिर्जना भएको थियो । त्यसपछिका बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वका, संकल्प र ध्यानाकर्षणका तीनवटा प्रस्ताव दर्ता गराएका छन् । ३८ थान विधेयक प्रतिनिधिसभा र विषयगत समितिमा विचाराधीन छ । निजामती विधेयक समितिले पारित गरेर कार्य व्यवस्था समितिमा बुझाइसकेको छ । नागरिकता विधेयक प्रतिनिधिसभामा पेस गरिए पनि छलफल भएको छैन । यी दुई विधेयक अढाई वर्षदेखि अनिर्णीत रूपमा छन् ।

Facebook Comments