‘माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक’

काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई सवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् ।

राजनीतिक दलबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताएका हुन् । प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटक पूर्वनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीव्र बनेको छ । उनले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न–भिन्न भएको भन्दै उनले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गरे ।

उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन् अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’

Facebook Comments