ट्यांकरबाटै इन्धन तस्करी, चालक र सह-चालक पक्राउ

विराटनगर । नेपाल आयल निगमले ढुवानीमा प्रयोग गरिरहेको ट्यांकरबाटै इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी हुने गरेको पाइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आउने ट्यांकरले नेपालबाट पुनः फर्किएर जाँदा भने तस्करीको इन्धन लैजाने गरेको पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका–४ स्थित निगमको प्रदेश १ कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको को १ ख ५९१२ नम्बरको ट्यांकर नियन्त्रणमा लिएको छ । ट्यांकर पेट्रोलीय ढुवानी व्यवसायी चरणप्रीत सिंहको रहेको निगमले जनाएको छ । प्रहरीले इन्धन तस्करीको रहस्य बाहिर आएसँगै सम्पर्कविहीन बनेका उनको खोजी गरिरहेको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार इन्धन तस्करीमा संलग्न ट्यांकरका चालक भारत अररीयास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम र सह–चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको छ । ट्यांकरबाटै तस्करी गरेर नेपालबाट भारततिर लैजान लागिएको दुई हजार छ सय ५० लिटर डिजेल पनि बरामद गरिएको जानकारी उनले दिए ।

एसपी खड्काले नियन्त्रणमा लिइएको ट्यांकर, पक्राउ परेका चालक र सह–चालक तथा तस्करी गरेर भारत पु¥याउन खोजिएको डिजेल आवश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुले इन्धन तस्करी गरेर भारत लैजान खोजेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि निगमको विनियम तथा प्रचलित कानुन विपरीत पेट्रोलीयम पदार्थ अपचलन गरेर राजस्व चुहावट गरेको कसूरमा कारबाही हुने जनाइएको छ ।

Facebook Comments