नेपाल–चीन नाका : आयातमा अवरोध, निर्यात ठप्प

काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नेपाल–चीन नाका पुनः सञ्चालनमा आए पनि चिनियाँ पक्षका अवराेधका कारण सहज आयात भने हुन सकेको छैन ।

नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भइरहेको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए ।

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत्का लागि आवश्यक सामग्री आइरहेका छन् ।

पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहजरूपमा आयात नभएको उनले बताए । नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउँछन् ।

‘हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ,’ रेग्मीले भने, ‘रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन । जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।’

कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो । लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

निर्यात ठप्प
रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुनसकेको छैन ।

चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् । ‘हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ तर चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ,’ उनले भने । रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।

Facebook Comments