४ सन्तानसहित कर्णालीमा हाम फालिन महिला: २ छोरीको शव भेटियो, तीन जना अझै बेपत्ता

काठमाडौं। विश्वभर नारी दिवस मनाइरहेका बेला दैलेखकी एक महिलाले भने श्रीमानको अत्याचार सहन नसकेपछि आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

हिजो आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाल भने अभै बेपत्ता छन् ।

उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीका अनुसार सुकी सोमबार बिहानै घरबाट निस्केकी थिइन् । स्थानीयले नै सुकीलगायत सबै कर्णाली नदीमा हाम फालेको जानकारी प्रहरीलाई गराएका थिए ।

सुकीका श्रीमान मानसिंह बडुवालले दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको पनि खुलिसकेको छ ।

मानसिंहले नै प्रहरीमा दिएको जानकारी अनुसार घरायसी विवाद हुँदा छोरा र छोरीसहित श्रीमती घरबाट निस्किएका थिए ।

प्रहरीले मानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको जनाएको छ ।

Facebook Comments