“म यहाँबाट निस्कन र मेरा श्रीमान्सँग हुन चाहन्छु,” मङ्गलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएको एउटा हस्तलिखित पत्रको तस्बिरमा उल्लेख गरिएको छ।
उक्त पत्र लेख्ने नादिला वुमैर चीनमा रहेका उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायकी सदस्य हुन् जो चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा आफ्ना दुई वर्षे छोरासहित नजरबन्दमा रहेको बताइएको छ।
एउटा अस्ट्रेलियन टेलिभिजनमार्फत् एक चिनियाँ अधिकारीले उनी आफ्नै इच्छाले चीनमा बसिरहेको बताएपछि आफ्नो सन्देश थाहा होस् भनेर वुमैरले त्यस्तो गरेकी हुन्।
उनका श्रीमान् सदाम अब्दुसलामले ती चिनियाँ अधिकारीको दाबीलाई सोही कार्यक्रममा प्रश्नोत्तर गर्न पाइने बेला चुनौती दिएका थिए।
अभियान
उनले आफ्नी पत्नीको रिहाइको माग गर्दै महिनौँदेखि अभियान चलाउँदै आएका छन्।
वुमैर अस्ट्रेलियाली नागरिक नभए पनि उनका पति र छोरा भने त्यहाँका नागरिक हुन् जसकारण अस्ट्रेलियाले आधिकारिक रूपमा उनीहरूलाई चीनबाट बाहिरिन दिइनुपर्ने माग गरेको थियो।
“मेरा छोरा अस्ट्रेलियाली नागरिक हुन् र उनीसँग अस्ट्रेलियाको राहदानी छ। मैले उसलाई अहिलेसम्म भेट्न पाएको छैन,” अब्दुसलामले कार्यक्रमका बीच बताएका थिए।
“उनीहरू म भएको ठाउँमा आउन भनेर अस्ट्रेलिया सरकारले मेरी श्रीमतीलाई भिसा दिएको छ। तर चिनियाँ सरकारले उनलाई निस्कन दिने छैन,” अब्दुसलामले भने। “कम्युनिस्ट पार्टीले किन १० लाख उइगरलाई थुनेर राखेको छ? के तपाईँ हाम्रो परिवारका सदस्यहरूलाई रिहा गर्नुहुन्छ?”
Last night on @QandA the Chinese embassy official lied and said my wife and son did not want to be with me. Here is the proof this not true. Here she is today with my son Lutfy I have never even met. Let them leave! Let me be with my family! #Uyghurs #Xinjiang pic.twitter.com/4k5uwuMypo
— sadam_abdusalam (@SMusapir) February 25, 2020
अधिकारवादी समूहहरूले चीनले करिब १० लाख उइगर र अन्य मुस्लिमलाई थुनामा राखेको बताउँदै आएका छन्।
तर चीनले आफूहरू आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै कुनै किसिमको गलत काम नगरेको बताउने गरेको छ।
वुमैरको विषयमा भने चिनियाँ अधिकारीहरूले प्रतिक्रिया जनाएका छैनन्।
तर अस्ट्रेलियास्थित चिनियाँ दूतावासका नियोग उपप्रमुखले भने उक्त कार्यक्रममा दुर्लभ उपस्थिति जनाएका थिए।
कार्यक्रममा उनले चिनियाँ कानुनले उनीहरूको विवाहलाई मान्यता नदिएको र उमाइरले चीनमै बस्नै इच्छा देखाएको भन्दै आलोचनाको उत्तर फर्काएका थिए।
त्यो कार्यक्रम प्रसारण भएको केही घण्टापछि अब्दुसलामले आफ्नी पत्नीद्वारा हस्तलिखित खण्डन आफ्नो ट्विटर खाताबाट सार्वजनिक गरेका थिए।
अधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलको अस्ट्रेलियास्थित कार्यालयले वुमैर र सिन्जियाङमा बन्दी बनाइएका अर्का अस्ट्रेलियाली उइगरका साथी “अस्ट्रेलियामा पुनर्मिलनका लागि आतुर रहेको” भन्दै चिनियाँ दूतावासका नियोग उपप्रमुखको भनाइ अस्वीकार गरेको छ।
चीनले उइगर मुस्लिमहरूको उत्पीडनको बारेमा बढ्दो आलोचना खेपिरहेको छ।
हालै बीबीसीले देखेको एक कागजातले शिविरमा रहेका सयौँ हजार मुस्लिमहरूको भाग्य चीनले कसरी निर्धारण गर्दै छ भन्ने विषयमा शक्तिशाली अन्तर्दृष्टि दिएको छ।
Facebook Comments