काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनकाे पछिल्लाे रवैया प्रति असन्तुष्टि जनाएका छन् । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनका चर्काे आलाेचना समेत गरे।
नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए। मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको बताए।
‘हाम्रो पडोसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसँग व्यापार गर्ने की नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु, अब यो हो भने त यसरी चीनसँग कसरी व्यापार गर्ने ?’
पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ । १०/१० महिनादेखि सामान रोकिएकाे बेला कन्टेनरको मूल्य समेत बढाएकाे भन्दै याे गलत भएकाे मन्त्री भट्टले बताए ।
उनले सारमा भनेका छन्, ‘हाम्रो पडोसीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ । अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् । कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ । यस्तै हो भने चीनसँग व्यापार गर्ने कि नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु । अब यो हो भने त यसरी कसरी चीनसँग कसरी व्यापार गर्ने ? १०/१० महिनादेखि सामान रोकिएको छ । हाम्रा व्यापारीहरुले सामान ल्याउन नपाएको एक वर्ष भयो । उनीहरुले यही बेला कन्टेनरको मूल्य बढाए । व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो नि ! एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि !’
Facebook Comments