एसपी बढुवामा विचौलियाहरूको चलखेल

काठमाडौं । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेसँगै रिक्त १५ वटा एसपी पदमा बढुवाका लागि डिएसपीहरुको चलखेल शुरु भएको छ ।

प्रहरी मुख्यालयले एसपीमा बढुवा गर्ने तयारी थालिलेसँगै केही डिएसपीहरु नेताकहाँ धाउन थालेका छन् त केही गृहमा नै आर्थिक चलखेलमा लागेका खुलेको छ ।

आईजीपी कमजोर र गृह मन्त्रालय शक्तिशाली भएका बेला केही डिएसपीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिकमार्फत सेटिङ मिलाउन लागेको स्रोत बताउँछ ।

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि उनले सिनियारिटीलाई प्राथमिकता दिने बताउँदै आएका छन् । तर, न त भर्खरै भएको एसएसपी बढुवा उनको यो भनाई लागू भयो न त विश्वराज पोखरेललाई डिआईजी बनाउँदा नै ।

त्यसैले पनि विचौलियाहरुले आर्थिक चलखेल गर्ने अवसर पाइरहेका छन् । त्यस्तै गृहको विचौलिया समूह पनि बढुवामा आर्थिक चलखेल गरिरहेको छ ।

बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा ३४ जना डिएसपी प्रतिस्पर्धामा छन् ।

२०५८ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका डिएसपीहरु सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, अमरेन्द्रबहादुर सिंह, सुवासचन्द्र बोहरा, दिलीप घिमिरे, वीरेन्द्र शाही, चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, सरोज पौडेल, योगेन्द्रसिंह थापा, सुमनकुमार तिमिल्सिना, ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, प्रजित केसीलगायत एसपीमा बढुवा हुने प्रतिस्पर्धामा छन् ।

बढुवाको प्रतिस्पर्धामा रहेका ३४ जना डिएसपीहरु यसअघि २०६९ फागुन १३ मा र २०७० साउनमा दोस्रो पटक डिएसपीमा बढुवा भएका एउटै ब्याचका अधिकृतहरु हुन् ।

Facebook Comments