ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा संसद विघटन गरे : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताएका छन् ।

गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडाैंमा गरेको कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गरे ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।