‘बहुमतको प्रधानमन्त्रीले सरकार चलाउदिँन भन्न मिल्दैन’

काठमाडाैं । अधिवक्ता दिनमणि पोखरेलले बहुमत प्राप्त दलको नेताले सरकार चलाउदिँन भन्न नपाउने बताएका छन् । संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भाग लिँदै रिट निवेदकका तर्फबाट अधिवक्ता पोखरेलले बहुमत दलको नेताले सरकार चलाउदिँन भन्न नपाउने बताए ।

साेमबारकाे बहसमा प्रतिनिधिसभा विघटन गर्नु पछाडिको कारण पार्टीभित्रको विवाद रहेको र राजीनितिक निर्णय लिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित जवाफ तथा सार्वजनिक अभिव्यक्तिमाथि पनि प्रश्न उठिरहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइको दोस्रो दिन सोमबार प्रधामन्त्रीको कदम सही हो कि होइन भन्नेमा केन्द्रित रहेको छ । प्रधानमन्त्री ‌ओलीले पार्टीभित्रको विवादलाई लिएर संसद्‍माथि प्रहार गरेको अधिवक्ता पाेखेरेलले बताए । आफू सरकार सञ्चालन गर्न पनि नसक्ने र अरुलाई आउने बाटो छेक्ने काम प्रधानमन्त्रीबाट भएको उनको भनाइ थियो ।

‘आफूले चलाउन नसक्ने, अर्को आउने बाटो पनि छेक्ने यहाँ भन्दा दुराशय, यहाँभन्दा संविधानको दुरुपयोग के हुन्छ ?,’ पोखरेलको प्रश्न थियो ।

Facebook Comments