शुक्रबार देशभर थपिए २७० कोरोना संक्रमित, ३९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ३९० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।