नेपाल-भारत सम्बन्धलाई दरिलो बनाउँनुपर्छ : विदेशमन्त्री जयंशकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा शुक्रबार मध्यान्हबाट सुरू भएको नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विदेशमन्त्री जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए ।

बैठकको सुरुमा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री जयंशकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए ।

उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका थिए । साथै उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि यो बैठकको प्रमुख उद्देश्य भएको बताए ।

त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए । नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताएका थिए । त्यसैगरी उनले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले दुई देशको सम्बन्धलाई गतिशीलताको नयाँ आयाम थपेको बताए ।