संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

काठमाडौं । सरकारले संक्रमितको संख्या बढ्दै गए लक्षणविहीन तथा सामान्य प्रकृतिका बिरामीलाई अस्पताल नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्ता बिरामीलाई क्वारेन्टाइन वा घरमै बस्न अनुरोध गरिनेछ ।

संक्रमण दर फैलिँदै गए स्रोत साधनका आधारमा कोभिड–१९ लाई मध्यनजर गर्दै वर्तमान स्रोत उपलब्धतामा आधारित स्थितिको वर्गीकरण गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअन्तर्गत पहिलो तहमा २ हजार जनामा संक्रमण देखिएमा १ हजार ६ सय जनालाई सामान्य उपचार आवश्यक पर्ने आँकलन गरिएको छ । यस्तै, ३ सय जनालाई अस्पताल भर्ना र अक्सिजन आवश्यक पर्न सक्छ । १ सय जनालाई अस्पतालमा भर्ना गरेर सघन उपचार सेवा आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।

दोस्रो तहअन्तर्गत २ हजारदेखि ५ हजार जनामा संक्रमण देखिएमा ४ हजार जनालाई जनालाई सामान्य उपचार आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै, ७ सय ५० जनालाई अस्पतालमा भर्ना र अक्सिजन आवश्यक पर्न सक्छ । २ सय ५० जनालाई सघन उपचार सेवा आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
तेस्रो तहअन्तर्गत ५ हजारदेखि १० हजार जनामा संक्रमण देखिएमा ८ हजार जनालाई सामान्य उपचार आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै, १ हजार ५ सय जनालाई अस्पतालमा भर्ना र अक्सिजन आवश्यक पर्न सक्छ । ५ सय जनालाई सघन उपचार सेवा आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।

चौथो तहअन्तर्गत १० हजारभन्दा बढीमा संक्रमण देखिएमा ८ हजार जनालाई सामान्य उपचार आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यस्तै, १ हजार ५ सय जनालाई अस्पतालमा भर्ना गरेर अक्सिजन आवश्यक पर्न सक्छ । ५ सय जनालाई अस्पतालमा भर्ना र सघन उपचार सेवा आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
स्वास्थ्य मन्त्रालयले कम्तीमा ५ लाख ४८ हजार क्वारेन्टाइनको संस्थागत विकास गर्नुपर्ने बताएको छ । हाल ५३ हजार ८ सय २३ वटा क्वारेन्टाइन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ३ हजार ७६ आइसोलेसन बेड, १ हजार ५ सय ९५ आईसीयू बेड र ८ सय ४० भेन्टिलेटर उपलब्ध छन् ।

१ सय जना संक्रमित भए तीन जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए । उनले अधिकांश संक्रमितलाई उपचार आवश्यक नपर्ने बताए । उनले भने, ‘तीन प्रतिशतलाई मात्रै उपचार चाहिन्छ । ९७ प्रतिशतलाई आवश्यक पर्दैन । १ सय जना बिरामी भए तीन जनालाई उपचार चाहिन्छ । यसरी हेर्दा १ लाख जनमा संक्रमण हुँदा हामीसँग पर्याप्त बेड छन् ।’

१ लाख जनासम्म संक्रमितलाई धान्न सक्ने गरी क्षमता विस्तार गरिएको उनले बताए । उनले भने, ‘लक्षणसहित संक्रमित भएकाहरूको संख्या बढ्दै गए लक्षणविहीन संक्रमितलाई अस्पताल राख्दैनौं । उनीहरूलाई क्वारेन्टाइनमा या घरमै बस्न अनुरोध गर्छौं । यसो गरिए १ लाख जनामा संक्रमण देखिदाँसम्म उपचार गर्न सक्छौं ।’

संक्रमणको दर बढ्दै गए अस्थायी प्रकृतिका अस्पताल बनाउनुपर्ने गरी मन्त्रालयले योजना बनाएको छ । छोटो समयमा अस्थायी अस्पताल बनाउने मन्त्रालयको सोच रहेको डा. कार्कीले बताए । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री अहिलेसम्म पर्याप्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढ्दै गए साधनस्रोत वृद्धि गर्दै लैजाने गरी मन्त्रालय अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना परीक्षणको दायरा बढाइएको बताए । उनले भने, ‘आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएका छन् । परीक्षणको दायरा बढाउँदै लगिएको छ ।’

Facebook Comments