काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जानेमाथि सरकारले थप कडाइ गर्न थालेको छ ।
भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप कडाइ गर्न अध्ययन पनि थालेका छन् ।
अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी अब भिजिट भिसामा जानेलाई आवधिक बिमा अनिवार्य गर्नेबारे छलफल भइरहेको बताउँछन् ।
उनका अनुसार स्थानीय तहको सिफारिस पत्र र भ्रमणको भिसाबाहक व्यक्तिको परिवारको एकाघरको सदस्यको मञ्जुरीपत्र पनि अनिवार्य गर्नेबारे छलफल भइरहेको उनले बताए ।
गृह मन्त्रालयले भिजिट भिसामा जाने श्रमिकलाई रोक्नेबारे अध्ययनसहित सिफारिस गर्न उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक कार्यदल नै बनाएको छ ।
अध्यागन विभागले पनि स्वतःस्फूर्त रुपमा श्रमका लागि भिजिट भिसा लिएर जानेलाई रोक्नका लागि भन्दै आन्तरिक गृहकार्य थालेको बताएको छ ।
Facebook Comments