राष्ट्रपति भण्डारी र प्रचण्डबीच नेकपा विवादबारे छलफल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब दुई घण्टा छलफल भएकाे छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपतिलाई भेट्न मंगलबार साँझ साढे ५ बजे शीतलनिवास प्रचण्ड र राष्ट्रपति भण्डारीबीचको भेटवार्तामा नेकपामा देखिएकाे विवादका विषयमा छलफल भएकाे स्रोतले बतायाे ।

प्रचण्डले राष्ट्रपति निवासमा करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहीदिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरेकी थिइन् ।

बुधवारका लागि पूर्वनिर्धारित सचिवालय बैठक अन्योलमा परेकाे बेला नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भएकाे छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भाेलिकाे सचिवालय बैठक रोक्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । तर प्रचण्ड समूहले बैठक रोक्न अस्वीकार गरेको छ ।

पार्टीभित्र बढ्दो विवादकै क्रममा प्रचण्डले ओलीको कडा आलोचना गर्दै छुट्टै प्रस्ताव पार्टी सचिवालयमा पेश गरेपछि नेकपा विवाद थप उत्कर्षमा पुगेकाे छ ।

प्रचण्ड लगायतका केही नेताले पेश गरेकाे प्रस्तावलाई लिएर केन्द्र देखी स्थानीय तहसम्मका नेतादेखि कार्यकर्तासम्म विभाजित बनेका छन् ।

Facebook Comments